×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचार मुद्दामा दोषी ठहर

दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक डा।शत्रुघ्नप्रसाद साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासले उक्त मुद्दामा सुनुवाइ गर्दै  विशेष अदालतको फैसलालाई सदर गरेको हो । 

यसअघि विशेष अदालतले अकूत सम्पत्ति आर्जन गरेको ठहर गर्दै साहलाई दोषी ठहर गरेको थियो भने सुशीलाकुमारी साहको नाममा भएको देखिएको अवैध सम्पत्ति जफत गर्न भनेको थियो । विशेष अदालतले २०७५ पुस मा उनीहरूलाई दोषी ठहर गरेको थियो । विशेष अदालतले उनलाई गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर्‍याएको थियो ।

उनले ६८ लाख २४ हजार रुपैयाँ गैरकानूनी रूपमा आर्जन गरेको निष्कर्ष सहित विशेष अदालतले त्यति नै जरिवाना र ९ वर्ष कैद हुने फैसला समेत गरेको थियो ।

विशेष अदालतको उक्त फैसलाउपर साहले २०७६ असार २२ गते सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए । साहले संस्थानको टेक्निकल अफिसर पददेखि प्रबन्धक पदसम्म बहाल रहँदा भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरी पदीय हैसियत अमिल्दो उच्च जीवनस्तर यापन गरेको भन्दै अख्तियारले उनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

साहले पदमा रहँदा झन्डै दुई करोड ३८ लाख ६८ हजार ३० रुपैयाँ भ्रष्टाचार गरेको पाइएको थियो । ‘साहले पेस गरेको सम्पत्ति विवरण समेतबाट निजको आयआर्जन १ करोड ४४ लाख ९७ हजार १ सय ३४ रुपैयाँ छ,’ अख्तियारले गरेको अभियोग पत्रमा भनिएको छ ‘आम्दानीको तुलनामा खर्च वा लगानी गरेको रकम ३ करोड ८३ लाख ६५ हजार १ सय ६४ रुपैयाँ छ ।’ प्रबन्ध निर्देशक साहले पेस गरेको सम्पत्ति विवरण, आम्दानी र उनको हालको सम्पत्तिको विवरणबिच तालमेल नदेखिएको अभियोग पत्रमा उल्लेख थियो ।

प्रतिकृया दिनुहोस्