×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

टेम्पो भिरबाट खसालेको घटना : पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति

टेम्पो भिरबाट खसालेको घटना : पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति

धनगढी । कैलालीको गोदावरीमा वन अतिक्रमण हटाउने अभियानका क्रममा भिरबाट टेम्पो फालिएको घटनाको विवाद समाधान भएको छ । भिरबाट टेम्पो फाल्ने कार्यमा संलग्न वन कर्मचारीले टेम्पो भीमदत्त राजमार्गमा राखेर खुद्रा सामान बिक्री गर्दै आएकी धनादेवी धामीलाई क्षतिपूर्ति वापतको रकम दिएपछि विवाद टुंग्गिएको हो ।

धनादेवीले क्षतिपूर्ति पाएसँगै सोही घटनामा कैलाली प्रहरीको हिरासतमा रहेका सवडिभिजन वन कार्यालय अत्तरियाका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र वन रक्षक चेतराज फूलारा पनि थुनामुक्त भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई ७/७ हजार धरौटीमा छाडेको हो । धामी टेम्पाको क्षतिपूर्ति र अतिक्रमण हटाउने अभियानका क्रममा वन कार्यालयले भत्काएको घर बनाइदिनुपर्ने भन्दै प्रहरी र स्थानीय प्रशासन धाइरहेकी थिइन् ।

वनका कर्मचारीले उनलाई क्षतिपूर्ति वाफत भन्दै पाँच लाख रुपैयाँ दिएपछि इलाका प्रहरी कार्यालय मालाखेतीमा उनीहरूबीचको विवाद समेत टुंग्गिएको छ । वन कर्मचारीले भीरमा फालेको सुपप्र ०१००१ ह ३१८० नम्बरको टेम्पो भने गरिमा विकास बैँकको नाममा रहेको पाइएको छ ।

कैलालीकै गोदावरीका कृष्णबहादुर थापाले गरिमा विकास बैँकबाट ऋण काढेर टेम्पो खरिद गरेका थिए । टेम्पोको सबै ऋण चुक्ता भइसके पनि नामसारी नगरिएका कारण सवारीधनी बैँक नै रहेको छ ।  धामीले उक्त टेम्पो गोदावरीका एक स्थानीयबाट खरिद गरेको बताएकी छन् ।

टेम्पो भिरमा फालिएको घटनापछि डिभिजन वन कार्यालय धनगढीको अतिक्रमण हटाउने अभियान विवादमा परेको थियो । अतिक्रमण हटाउँदा वन कर्मचारी नै प्रहरी हिरासतमा पुगेपछि अभियान प्रभावित भएको छ ।

प्रतिकृया दिनुहोस्