धनगढी । बाजुरामा बस दुर्घटना भएको छ । बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको बताए ।
उनीहरु मध्ये २३ जनालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ भने एक जनालाई अछामको बयलपाटा अस्पताल लगिएको छ । बसमा ३५ जना सवार रहेको कार्कीले बताए ।
बस ब्रेक फेल भएर एक्कासी दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।