×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

राष्ट्रिय शोकको घोषणा गर्न सांसदहरूको माग

राष्ट्रिय शोकको घोषणा गर्न सांसदहरूको माग

काठमाडौं । सांसदहरूले रसुवामा गएको विनाशकारी बाढीपछिको अवस्थामा राष्ट्रिय शोकको घोषणा गर्न सरकारसँग माग गरेका छन् । राष्ट्रिय सभामा शून्य समयमा बोल्दै सांसदहरूले यस्तो माग राखेका हुन् ।

‘सम्माननीय अध्यक्षज्यूमार्फत भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न सरकारलाई आग्रह गर्दछु,’ नेपाली कांग्रेसका सांसद युवराज शर्माले भने ।

उनले विपद्का बेला सबै एकै साथ भएर अगाडि बढ्नुपर्ने पनि बताए ।

‘जे नहुनु थियो भइसक्यो । अब खोजी, उद्धार, राहत र पुर्नस्थापनामा सरकारको ध्यान केन्द्रित हुनुपर्दछ,’ उनले भनेका छन्, ‘प्रचार भन्दा परिणाममुखी कार्य र सुरक्षित व्यवस्थापन आवश्यक छ ।’

नेकपाकी सांसद मदन कुमारी शाह गरिमाले पनि राष्ट्रिय शोकको घोषणा गर्न माग गरिन् । ‘एक दिन राष्ट्रिय झण्डा झुकाएर शोक कोषणा गर्न माग गर्दछु’ उनले भनिन् ।

धनी र विकसित मुलुकले गरेको गलत कार्यले जलवायु परिवर्तन भएको र यसको असर नेपाल जस्ता मुलुकले भोग्नुपरेको भनेर उनले यो विषयलाई अन्तराष्ट्रियकरण गर्न आवश्यक रहेको बताइन् । भदौ १० गते विनाशकारी बाढी भएको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवाको भोटेकोशीमा आएको बाढीमा परेकामध्ये ९८७ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा शव फेला परेका हुन् ।

प्राधिकरणका अनुसार रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरसी पश्चिममा १७० र चितवनमा ३२१ जनाको शव फेला परेको हो ।

प्राधिकरणका अनुसार अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन् भने २७९ जना घाइते छन् । हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ ।

उद्धार, राहत तथा पुनस्स्थापनमा २० हजार ८१९ सुरक्षाकर्मी खटिएका छन् । जसमा नेपाली सेना ८ हजार ७२२, नेपाल प्रहरी ७ हजार ८९४ र सशस्त्र प्रहरी ४ हजार २०३ जना रहेका छन् ।

यो विपद्को विषय संसद्मा उठाउँदै सांसदहरूले सरकारको ध्यानाकर्षण गरेका हुन् ।

नेकपाका सांसद सुरेशकुमार आलेमगरले विश्वका धनी र सम्पन्न मुलुकहरूले सिर्जना गरेको भूमण्डलीय वाष्पीकरण र जलवायु परिवर्तनका कारण यस्ता बेमौसमी प्राकृतिक प्रकोपका घटनाहरू हुने बताए । तर यस्ता घटनाहरूको दूष्परिणाम भोग्न र पीडित हुन नेपाल जस्ता गरीब एवं अविकसित देशहरूले परिरहेको बताए ।

यस तथ्यतर्फ अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए ।

प्रतिकृया दिनुहोस्