काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक सुरु भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा प्रतिपक्षी दलहरूको बैठक सुरु भएको हो ।
सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल गर्न कांग्रेसले प्रतिपक्षी दलहरूको बैठक बोलाइएको बताएको छ ।
बैठकमा नेकपा एमालेबाट सचिव तथा उपनेता पद्मा अर्याल, नेपाल कम्युनिस्ट पार्टीबाट संसदीय दलका नेता वर्षमान पुन र प्रमुख सचेतक युवराज दुलाल सहभागी भएका छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रमुख सचेतक खुश्बु ओलीको बैठकमा सहभागिता रहेको कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको सचिवालयले जनाएको छ ।
बैठकमा संसद बाहिर रहेका दलका नेताहरू पनि उपस्थित छन् ।
बैठकअघि नेता आङ्देम्बेले सरकारको जवाफदेहिता, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भूमिका, पत्रकार पक्राउ र सञ्चारमाध्यममा प्रहरी परिचालन, विभिन्न घटनाका छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने तथा निष्पक्ष अनुसन्धानको विषयमा छलफल हुने बताएका थिए ।
यसअघि सोमबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले पत्रकार धरपकड र न्यायालयबारे उठेको विवाद छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेको थियो ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै संसदीय दलका नेता आङ्देम्बेले भनेका थिए, ‘नेपाली कांग्रेस पत्रकार धरपकडलगायत यससँग जोडिएका सरकारी सबै विवादित गतिविधिको स्वतन्त्र निष्पक्ष पारदर्शी छानबिन हुनुपर्दछ । दोषीलाई कानुनी कारबाही गर्नुपर्दछ । यसका लागि संसदीय विशेष समिति गठन गर्नु पर्दछ ।’
पछिल्ला सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेको कांग्रेस संसदीय दलको ठहर छ ।