झापा । झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालले क्यान्सर उपचार र उपशामक हेरचाह सेवाको गुणस्तरसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ ।
युरोपियन सोसाइटी फर मेडिकल अन्कोलोजी (इएसएमओ) अन्तर्गतको ‘डिजिग्नेटेड सेन्टर्स अफ इन्टिग्रेटेड अन्कोलोजी एन्ड प्यालिएटिभ केयर’ कार्यक्रमअन्तर्गत अस्पतालले सन् २०२७ देखि २०२९ सम्मका लागि उक्त मान्यता प्राप्त गरेको हो ।
अस्पतालका सूचना अधिकारी प्रमिश गिरीका अनुसार अस्पतालको अन्कोलोजी तथा प्यालिएटिभ केयर सेवासम्बन्धी स्वमूल्याङ्कन प्रतिवेदन र आवेदनको अध्ययनपछि इएसएमओको डिजिग्नेटेड सेन्टर्स टास्क फोर्सले मान्यता प्रदान गरेको हो ।
यस कार्यक्रमले क्यान्सरका बिरामीलाई रोगको उपचारसँगै पीडा न्यूनीकरण, लक्षण व्यवस्थापन, मनोसामाजिक सहयोग र जीवनको गुणस्तर सुधार गर्ने सेवाको एकीकृत व्यवस्थालाई प्राथमिकता दिँदै आएको छ । मान्यताका लागि अस्पतालको सेवा प्रवाह, उपचार पद्धति र बिरामीको हेरचाहसम्बन्धी मापदण्ड मूल्याङ्कन गरिने सञ्चालक डा अञ्जली कार्की प्रसाईले बताइन् ।
पूर्वाञ्चल क्यान्सर अस्पताल पूर्वी नेपालमा क्यान्सर रोगको परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने प्रमुख स्वास्थ्य संस्थामध्ये एक हो । बिर्तामोड नगरपालिका–५ मा रहेको यस अस्पतालले क्यान्सर रोगको पहिचानदेखि शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी र उपचारपछिको हेरचाहसम्मका सेवा प्रदान गर्दै आएको छ ।
अस्पतालमा मेडिकल अन्कोलोजी, सर्जिकल अन्कोलोजी र रेडिएसन अन्कोलोजीका साथै स्तन, फोक्सो, पाठेघर, टाउको तथा घाँटी र रक्त क्यान्सरलगायत विभिन्न प्रकारका क्यान्सरको उपचार हुँदै आएको छ । त्यसैगरी रोग पहिचानका लागि पेट सिटी, एमआरआई, म्यामोग्रामलगायतका परीक्षण सेवा उपलब्ध छन् ।
अस्पतालले सञ्चालनको पाँच वर्षमा अर्थात् सन् २०२५ फेब्रुअरीसम्म छ हजार ४८४ जना क्यान्सरका बिरामीले उपचार सेवा लिएका बताएको छ। सो अवधिमा स्तन क्यान्सरका ८१४ र फोक्सोको क्यान्सरका ८०५ जना बिरामीले अस्पतालबाट सेवा लिएका थिए ।
क्यान्सर रोगको उपचार लामो समयसम्म चल्ने र खर्चिलो हुने भएकाले अस्पतालले विपन्न नागरिक औषधोपचार कार्यक्रमअन्तर्गत योग्य बिरामीलाई सरकारी व्यवस्थाअनुसार उपचारमा सहुलियतसमेत उपलब्ध गराउँदै आएको छ ।
क्यान्सरको उपचारमा रोग नियन्त्रण वा निको पार्ने प्रयाससँगै बिरामीको पीडा कम गर्ने, उपचारका क्रममा देखिने जटिलता व्यवस्थापन गर्ने र मानसिक तथा सामाजिक सहयोग उपलब्ध गराउने कार्यलाई पनि महत्वपूर्ण मानिन्छ । प्यालिएटिभ केयरले बिरामीको जीवनको गुणस्तर सुधार गर्न सहयोग पु¥याउँछ ।
अस्पतालले प्राप्त गरेको अन्तर्राष्ट्रिय मान्यताले पूर्वी नेपालमा क्यान्सर उपचार तथा उपशामक हेरचाह सेवालाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको सूचना अधिकारी गिरीले बताए ।
पूर्वी नेपालका बिरामीलाई आफ्नै क्षेत्रमा क्यान्सर परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले सेवा विस्तार गर्दै आएको छ । यद्यपि क्यान्सर रोगको समयमै पहिचान, उपचारमा सर्वसाधारणको पहुँच, उपचार खर्च व्यवस्थापन र नियमित अनुगमन अझै चुनौतीका रूपमा रहेका देखिएको छ।